काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड एक लाख ३२ हजार ८०० रुपयाँ जम्मा गरेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो।कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान ६७ हजार ३२० रुपयाँ जम्मा गरेका छन्।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले ७० हजार ७३० रुपयाँ जम्मा गर्नुभएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका तर्फबाट १९५ जना सांसदको ६३ लाख दुई हजार ५९० रुपयाँ कोषमा जम्मा गरिएको छ।
सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको ६४ हजार ७० रुपयाँ, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको ३२ हजार ३५ रुपयाँ कोषमा जम्मा गरिएको छ।
सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको २१ लाख ४६ हजार ८५६ रुपयाँ, सचिवालयका स्थायी कर्मचारीको ११ लाख १७ हजार ९७९ रुपयाँ, करारका कर्मचारीको दुई लाख ६३ हजार ९०० रुपयाँ जम्मा गरिएको छ।