काठमाडौं, चैत्र २८ः कोभिड-१९ को बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ । सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको छ । प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ ।

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा सो कार्य शुरुसमेत भइसकेको छ । एकसाथ बढी सङ्ख्याका कोरोना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने ‘आरटिपिसिआर‘ नामको उपकरण जडानको काम पनि अघि बढाइएको छ । धनगढीमा रहेको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा सो उपकरण जडान गर्न लागिएको छ । यो उपकरण सञ्चालनमा आएपछि दिनमा ९० देखि ९५ वटा शङ्कास्पद नमूनाको परीक्षण गर्न सकिने छ ।