नेविसंघले भारतविरुद्ध पूर्व-पश्चिम राजमार्गमा विरोध प्रदर्शन गर्‍यो

Politics

बैशाख ३०, २०७७ सर्लाही : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार बिहान फूलजोरस्थित पूर्व-पश्चिम राजमार्गमा विरोध प्रदर्शन गरेको छ। नेविसंघ सर्लाही एवं जनज्योति बहुमुखी क्याम्पस इकाई कमिटीको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो। नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले मानसरोवर जाने सडक उद्घाटन गरेपछि विरोध कार्यक्रम आयोजना गरिएको नेविसंघ सर्लाहीका नेता विश्वामित्र रिजालले जानकारी दिए। ‘कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रो हो,’ ‘भारतीय दादागिरी बन्द गर,’ ‘हाम्रो भूमि फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेर विद्यार्थीहरुले नाराबाजी सहित राजमार्गमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा नेविसंघ नेताहरु योगराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्की, विकास चिमोरियासहित कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्रीय सभापति प्रमोद बराल, लालबन्दी नगर सभापति प्रशान्त आचार्य लगायत पार्टी नेताहरुको सहभागिता थियो। दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले यसअघि नै आफ्नो नक्सा सार्वजनिक गरिसकेको छ।