काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ ।
वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए।
शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ ।
तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ ।
युवतीको सम्पर्कमा आएका १५ जनाको पिसिआर परीक्षण गर्ने बताइएको छ ।
युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।
बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।
भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित स���्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ ।
नेपालगञ्जबाट काठमाडौँ आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएता पनि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताए। क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेत लगायतका छन् ।