फेवाताल जोगाउन जुटे प्रदेश र स्थानीय सरकार

News

संरक्षणको अभावमा कतै फेवातालकै अस्तित्व मेटिने त होइन भन्ने चासो र चिन्ता बढेका बेला गण्डकी प्रदेश सरकार र यहाँको स्थानीय सरकार यतिखेर संरक्षणमा जुटेका छन् ।

पोखरामा पर्यटनको प्रसङ्ग उठ्नेबित्तिकै सुविधा सम्पन्न होटलका कार्यक्रम तथा त्यहाँ मात्र नभएर पोखराका चोक र चिया पसलमा समेत फेवाताल संरक्षणको विषयले चर्चा पाउने गर्छ । अहिले भने प्रदेश र स्थानीय सरकारले ताल संरक्षणको पहल थालेका छन् र यसलाई सकारात्मकरुपमा लिइएको छ ।

फेवाकै संरक्षणका लागि विश्वप्रकाश लामिछानेको नेतृत्वको समितिले एक दशकअघि दिएको प्रतिवेदनकै आधारमा सर्वोच्च अदालतले समेत यसको संरक्षणका लागि मार्ग प्रशस्त गरिसकेको अवस्थामा संरक्षणको प्रयास पनि अघि बढाइएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालको जलाधार क्षेत्रमा पहिलो चरणमा विभिन्न चार स्थानमा ‘सिल्टेसन ड्याम’ तथा सिल्टपोखरी बनाउन थालिएको छ ।

प्रत्येक वर्षायाममा उर्लने खहरे खोलासँगै बगेर आउने खोलाजन्य पदार्थको रोकथामका लागि पोखरा महानगरपालिका वडा नं २३ र २४ मा पर्ने बेतयानीखोला, लौरुकखोला, अधेरीखोला र हर्पन, घाँटीछिनामा चेक ड्याम र सेन्टपोखरी निर्माण कार्य शुरु गरिएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको कूल २८ करोड ९६ लाखको लागतमा चेकड्याम र सेल्टपोखरी निर्माण गरिनेभएको हो । उक्त भौतिक संरचना निर्माणका लागि दुवै सरकारले बराबर लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

पोखरा महानगरपालिका वडा नं २४ स्थित बेतयानी खोलामा ५० मिटर लम्बाइ ५० मिटर चौढाइ र चार मिटर उचाइको चेकड्यामसहित पोखरी कूल पाँच करोड ४६ लाख ५८ हजारको लागतमा निर्माण गरिनेभएको छ । पन्ध्र महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी श्री गीता जय नेपाल ईश्वर जेभी निर्माण कम्पनी स्याङ्जासंँग सम्झौता गरिएको सो स्थानमा बायो इन्जिनीयरिङ, चेकड्याम निर्माण, खोलाको दायाबायाँ ग्याबिन भर्नाका साथै सिल्टपोखरी निर्माण गरिनेछ ।

पोखरा २४कै लौरुक खोलामा रु पाँच करोड ७४ लाख ८४ हजार ९९८, पोखरा २३ र २४ को बीचमा पर्ने अधेरी खोलामा १०० मिटर लम्बाइ, १०० मिटर चौडाइ र चार मिटरको उचाइमा चेकड्याम र सिल्टपोखरी निर्माण भइरहेको छ । फेवाताल संरक्षणका लागि पोखरा २३ स्थित हर्पन खोला घाँटीछिनामा सात करोड ८८ लाख ६२ हजार लागतमा एककरएक सय मिटर लम्बाइ र चौडाइ एवं चार मिटर उचाइ रहेको चेकड्याम तथा सिल्टपोखरीको निर्माणले तीव्रता पाएको छ । यो बन्दाबन्दीको समयमा पनि १५० जनाले दैनिक काम गर्दै आएका छन् ।

सम्झौताअनुसार २०७७ साल पुस महिनासम्म निर्माण सम्पन्न गर्ने भए पनि असार मसान्तसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएका छन् । प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएका कारण अस्तित्व नै सङ्कटमा परेको पर्यटकीय नगरी पोखराको सौन्दर्यको रुपमा रहेको फेवाताल बचाउन यस नजिकका दुवै सरकार पहिलोपटक देखिनेगरी जुटेका हुन् ।

पोखराको सुन्दरता, फेवाताललाई जोगाउन विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले चासो देखाउँदै आएको भए पनि तालको माथिल्लो तटीय क्षेत्रको वनजङ्गलको संरक्षण, कृषि प्रणालीमा सुधारका साथै तटबन्धको व्यवस्था अपरिहार्य महसुस गर्दै दुवै सरकारबाट थालिएको संरक्षणको प्रयासले तालको आयु बढ्ने विश्वास जगाएको स्थानीयवासी बताउँछन् ।