काठमाडौं, जेठ ११ः कर्मचारी सञ्चय कोषले संचालन गरेका सेवामध्ये विशेष सापटी सेवा हाललाई अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।
कोभिड-१९ का कारण कोषका सेवा बन्द भएपछि भोलि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा भने सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ ।
कोषका अनुसार हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गएर अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।
कोषले सो आवेदन फारामलाई रुजु गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । यसैबीच कोषले लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयहरुमार्फत अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको जनाएको छ ।