कपिलवस्तुको क्वारेन्टाइनबाट ३० व्यक्ति फरार

News

२०७७ जेष्ठ १३ : काठमाडौँ  – कोरोना जाँच नभएको भन्दै कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३० जना भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ । तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ । कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । कपिलवस्तुमा झण्डै सात हजार व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।