२०७७ जेष्ठ १३ : काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभाको छैठौँ (बजेट) अधिवेशन आजदेखि सुरु हुँदैछ । बर्खे अधिवेशन समेत भनिने यो अधिवेशनमा मुलतः सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुनेछ । दिउँसो २ बजे सुरु हुने प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सुरक्षाका उपाय अवलम्बन गरेर यो अधिवेशन सञ्चालन हुने सचिवालयले जनाएको छ । प्रदेशसभा कक्ष सेनिटाइज गर्ने, सभा परिसरमा मास्क, पञ्जा, सेनिटाइजर लगायतको व्यवस्था गरिएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई समाधान गर्ने खालका योजनाहरु अगाडि बढाइने जनाएको छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने, कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने खालका योजनाहरुमा प्राथमिकताका साथ बजेट छुट्याइने बताइएको छ ।।