काठमाडौँ – इन्डोनेसियाका एक मन्त्रीले कोरोना भाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले विद्रोही पत्नीहरू’सँग तुलना गर्दै कोरोना भाइरसबारे सार्वजनिक रूपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रूपमा यससँग नडराउन पनि उनको आग्रह थियो ।
उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको यश भनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरू माझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।
यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति
सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईंले यससँगै जिउने बानी पार्नुपर्ने हुन्छ ।
महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । जहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ ।