प्रहरीद्वारा अफ्रिकी मूलका अमेरिकी मारिएको विरोधमा अमेरिकामा प्रदर्शन

International

एजेन्सी, १८ जेठ । प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका एक जना अमेरिकी मारिएको विरोधमा अमेरिकाका विभिन्न सहरमा गरिएका प्रदर्शनमा झडप भएका छन्।

जर्ज फ्लोयडको मिनियापोलिस प्रहरीका एक अधिकारीले घुँडाले घाँटी थिचेका कारण ज्यान गएको थियो। न्युयोर्क, एटलान्टा, पोर्टल्यान्डलगायत सहरहरूमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएका छन्।

प्रदर्शनकारीले जर्जियास्थित सीएनएनको कार्यालय नजिकै प्रहरीको एउटा कार जलाइदिएका छन्। मिनेसोटा राज्यमा स्थिति निकै भयावह बनेको छ। मिनियापोलिसलगायतका विभिन्न सहरमा बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

तर प्रदर्शनकारीले कर्फ्यु तोडेको जनाइएको छ। कैयौं स्थानमा टायर बालिएका छन्। प्रदर्शन स्थलहरूमा प्रहरी उपस्थिति निकै कम देखिएको छ। मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ।

मिनियापोलिसस्थित एक प्रहरी कार्यालयमा आगो लगाइएको छ। अमेरिकी रक्षा मन्त्रालयले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयारी अवस्थामा राखेको जनाएको छ। एटलान्टाका अधिकांश क्षेत्रमा सम्भावित मृत्यु र सम्पत्ति जोगाउनका लागि भन्दै संकटकाल घोषणा गरिएको छ।

एटलान्टाका मेयर केइसा लान्सले प्रदर्शनकारीले न्याय माग गरेको भन्दा पनि हिंसामा उत्रेको बताएका छन्। न्युयोर्कको ब्रुकलिनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा कैयौं प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले कारहरू जनाइदिएका र घरका सिसा पनि फोडेको जनाइएको छ। प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

मेयर बिल डे ब्लासिओले अमेरिकीहरूले यस्तो घटना पुन: देख्न नचाहेको बताएका छन्। ओरिगन राज्यको पोर्टल्यान्डमा लुटपाट मच्चिएपछि संकटकाल घोषणा गरिएको छ। प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्नुका साथै गाडीहरू जलाइदिएका छन्।

डेट्रोइटमा एउटा गाडी प्रदर्शनकारीमाथि चलाइएपछि एक जनाको मृत्यु भएको छ। प्रहरीले १९ वर्षीय युवकको मृत्युबारे छानबिन भइरहेको जनाएको छ। अन्त तीन जना घाइते भएको बताइएको छ।