२०७७ जेष्ठ २० : काठमाडौँ – लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् । पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिनु भयो । लगातार लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ ।
लकडलाउनले अति भएपछि व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए । मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो ।
प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो । त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए । स्थानीय अनुसार पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेका थिए । उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए ।
७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन । आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन् । आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए ।