काठमाडौं । जनता समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्णय भइसकेको संघीय परिषद् अध्यक्ष पद एकाएक खोसिएको छ । उनले एकीकृत पार्टीमा चौथो बरियतामा चित्त बुझाएका छन् । माओवादी जनयुद्ध हाँकेका, प्रधानमन्त्री भइसकेका, एउटा सिंगै पार्टीका अध्यक्ष भइसकेका व्यक्तिले एकाएक किन चौथो वरियाताक्रमको वरिष्ठ नेतामा चित्त बुझाए भन्ने चासो सर्वत्र रहेको हो ।
उनको चौथो वरियताका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।निर्वाचन आयोगमा आजै दर्ता गराउनु पर्ने दवावका कारण अहिले वरिष्ठ नेतामा चित्त बुझाएको र पछि उपयुक्त जिम्मेवारी हुने बताइएको छ ।
केही दिनदेखि जसपाभित्रको लगातार छलफलपछि तीनजना (भट्टराईसहित महन्थ ठाकुर र उपेन्द्र यादव) अध्यक्ष रहने गरि सहमति भएको थियो । पहिलो वरियताक्रमको अध्यक्षमा महन्थ ठाकुर, दोस्रो वरियताक्रममा डा. भट्टराई (संघीय परिषद् अध्यक्ष), तेस्रो वरियताक्रमको केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव र वरिष्ठ नेताहरुमा अशोक राई र राजेन्द्र महतो रहने सहमति भएको थियो । राई र महतोको वरियता क्रमशः चौथो र पाँचौ रहने सहमति भएको थियो । यो सहमति अनुसार पार्टी दर्ता गराउन केही नेताहरु निर्वाचन आयोग पुगिसकेका थिए । तर भएको सहमतिमा डा.बाबुराम भट्टराईलाई चित्त बुझेको थिएन । दोस्रो तहका सबै नेत ४ः३० वजे नै निर्वाचन आयोग पुगिसकेको अवस्थामा ३ नेताबीच छलफल अझै सकिएको थिएन । अर्थात अध्यक्षका विषयमा अन्तिम सहमति जुटाउने प्रयास शीर्ष नेताबीच जारी रह्यो ।
छलफलका क्रममा तीन जना अध्यक्ष रहने हो भने वरियताक्रमको एक नम्बरमा आफ्नो नाम रहनुपर्छ भन्ने बाबुरामको अडान थियो । यस्तै महन्थ ठाकुरलाई संयोजक बनाएर आफू संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुपर्छ भन्ने पनि बाबुरामको तर्क थियो ।
तर महन्थ ठाकुरले आफू बस्ने हो भने अध्यक्षमै बस्ने नत्र संयोजकमा नबस्ने अडान लिए । उपेन्द्र यादवले पनि महन्थ ठाकुरलाई संयोजकमै बस्न दवाव दिन थाले । पहिला पनि महन्थ ठाकुर पार्टीको संयोजक नै हुने सहमति भएकाले ‘तपाई संयोजकमा बस्दिनुस्’ भन्ने उपेन्द्र यादवको जोडबल थियो ।
अवस्था ‘तनावपूर्ण’ बन्ने देखिएपछि नेता राजेन्द्र महतोले महन्थलाई ‘कन्भिन्स’ गर्दै रोकेका थिए । पार्टीका दोस्रो तहका नेताहरु निर्वाचन आयोगमा रहकै बखत शीर्ष नेताहरुको बैठक भने तनावपूर्ण बनेपछि केही बेर माहोल स्तब्ध बनेको एक नेता बताउँछन् ।
यही बीचमा भट्टराईले ठाकुरले संयोजक बस्न नमान्ने हो भने आफू पनि वरिष्ठ नेतामा बस्ने बताएका थिए । अर्थात तीन जना अध्यक्ष आफूलाई अस्वीकार्य हुने र दोस्रो वरियतासहितको संघीय परिषद्को अध्यक्षमा आफू नबस्ने उनको अडान थियो । उनले खुसीसाथ नै तीन अध्यक्षसहित दोस्रो वरियताको संघीय परिषद अध्यक्ष हुनुभन्दा वरिष्ठ नेता ठीक रहेको बताएपछि सोही अनुसार निर्णय गरिएको बैठकमा सहभागी ती नेताको भनाइ छ ।
भट्टराईकै सहमति पछि दोस्रो नम्बरमा रहेको उनको नाममा टिपेस्ट लगाएर वरिष्ठ नेतामा राखिएको हो । उनलाई वरिष्ठ नेतासहित तेस्रो नम्बरमा राख्न खोजिएको भएपनि राजेन्द्र महतोले आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने अशोक राईलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान लिएका थिए ।