काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको हो ।
पर्याप्त स्वास्थ्य सामग्री आपुर्ति गर्न नसक्नु, स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार हुनु, क्वारेन्टाइन व्यवस्थित नहुनु र त्यहाँ रहेकाको कोरोना परीक्षण गर्न किट अभाव हुनु लगायतले सरकारको असफलता प्रष्ट पारेको ठहर कांग्रेसले गरेको छ ।
सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ ।