नेकपाको चुलिदै गरेमो विवाद : आलोचनाबाट बच्न बैठक नबोलाएको भन्दै नेताहरु आक्रोशित

Politics

काठमाडौँ – नेकपा नेतृत्वले बैठक बोलाउन आनकानी गरेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउदै लगेको भन्दै पार्टीका दोस्रो लहरका नेताहरुले असन्तुष्टि जनाएका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र थप कमजोर बन्दै जाँदा समेत नेतृत्व यस तर्फ जिम्मेवार नहुनु लज्जाको विषय भएको उनीहरुको दावी छ ।

बृहत लोकतान्त्रिक पार्टीभित्र वादविवाद र अन्तरसंघर्ष स्वभाविक हो तर देखिएको विवाद तत्काल समाधान गर्न नसके त्यो स्वयम नेतृत्व र पार्टीका लागि समेत विषालु बन्दे जान सक्छ । तर बेलैमा अन्तरकलहलाई ठेगान लगाउन सकेमा पार्टी थप बलियो बन्न सक्छ । तर नेपाल कम्युनिष्ट पार्टी नेकपा एकताको २ वर्ष पूरा भईसक्दा समेत पार्टीभित्र प्रशस्त छलफल र अन्र्तक्रिया हुन नसकेको भन्दै नेताहरुमा असन्तुष्टि चुलिदो छ ।

पार्टीभित्र सामुहिक छलफल, बहस र सामुहिक निर्णय हुनुपर्ने अवस्थामा एकलौटी निर्णयले पार्टी चल्न थालेको भन्दै नेताहरु असन्तुष्ट देखिएका हुन् । नेताहरुको मागपछि पनि बैठक बोलाउन आनाकानी गर्नुका सट्टा नेतृत्वले बैठकमा विवाद समाधान गर्नुपर्नेमा नेताहरुको जोड छ ।

कोरोना संकटकैबीचमा पार्टीले नेतृत्व गरिरहेको सरकारको कार्यशैलीप्रति आम जनस्तरमा असन्तुष्टी बढ्नु, सरकारका गतिविधि पनि शंकास्पद बन्दै जानुले पार्टीभित्र फरक मत राख्नेहरु थप रुष्ट बन्दै गएका हुन् । २० सदस्यले हस्ताक्षर नै गरेर बैठकको माग गर्दा समेत नेतृत्वले अनेक बहाना बनाएर टार्दै लगेको नेताहरुको आरोप छ । स्थायी कमिटी मात्रै होइन, सोमबार र मंगलबारका लागि बोलाईएको सचिवालय बैठक समेत स्थगित भईरहेको छ । प्राविधिक कारण देखाएर सामुहिक छलफललाई टार्दै लैजाँदा पार्टी विस्फोटको अवस्थामा जाने टिप्पणी सुरु भएको छ । त्यसोत नेतृत्वमा आलोचना सुन्ने साहस नहुँदा बैठक बोलाउनै डराएको कतिपय नेताहरुले भन्न थालेका छन् ।

नीति तथा कार्यक्रम, बजेट प्रस्ताव वा कोरोना नियन्त्रण वा समसामयिक विषयमा  पार्टीभित्र छलफल गरेर सामुहिक निर्णयमा जानुको सट्टा एकलौटी निर्णय हावी भएको भन्दै असन्तुष्टि चुलिएको हो । तरपनि नेकपा नेतृत्व बैठक मिती तय गर्न मात्रै होइन, बोलाएको बैठक समेत पटकपटक स्थगित गरिरहेको छ । जसले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बन्दे गएको छ ।