एमसीसी पारित नभए अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रने : अर्थमन्त्री

Politics

काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले एमसीसी पारित नभए अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्ने बताएपछि नेकपाकै नेताहरुले आलोचना गरेका छन् । नेकपाभित्र एमसीसीका पक्ष र विपक्षमा मत आईरहेका समयमा अर्थमन्त्रीको टिप्प्णी गलत भएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको हो ।

पछिल्लो समय अमेरिकी सहायता रकम मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीलाई लिएर मत बाझिरहेका समयमा अर्थमन्त्री युवराज खतिवडाको टिप्पणीलाई लिएर आलोचना सुरु भएको छ । अर्थ, सुचनामन्त्री तथा सरकारका प्रवक्ता समेत रहनुभएका खतिवडाले एमसीसी सम्झौता तोड्दा अन्र्तराष्ट्रियसम्बन्धमै असर पर्ने भन्दै सम्झौता खारेज गर्न नहुने बताएका थिए ।

सहायक सम्झौतालाई हेरफेर गरिएपनि मुल सम्झौता सच्याउँदा कुटनीतिक सम्बन्धमा दरार उत्पन्न हुनेभन्दै एमसीसी पास गरिनुपर्ने बताएका हुन् । नेकपाभित्र भने एमसीसी पारित गर्ने विषयलाई लिएर थुप्रै बहस र वादविवाद मात्रै भएका छैनन्, एमसीसीका सम्बन्धमा छलफलका लागि बोलाइ बैठक समेत पटक–पटक स्थगित भईसकेको छ । एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित होइन र देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता र स्वाधीनतामा खलल पुग्दैन भने मात्रै पारित गर्नुपर्नेमा कतिपयको जोड छ ।

एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्नेमा जोड दिदैँ आएका नेकपाका नेता भिम रावलले त सम्झौताका कतिपय बुँदा नेपालको संविधान र कानुनसँग बाझिएको बताउदै आएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना एमसीसीलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको दावी गरे । मन्त्री ज्ञवालीले संसदमा एमसिसीबारे अनावश्यक बहसमा जान नहुने बताए ।

प्रतिपक्षीले एमसीसी सम्झौता पास गर्न दबाव दिईरहेका बेला नेकपाका अधिंकाश नेताहरु भने पारित गराउन नहुने भन्दै सरकारको विपक्षमा उभिएका छन् । महाकाली सन्धि जस्तै एमसीसीले पनि नेपाललाई घात गर्नसक्ने भन्दै पारित नगर्न चेतावनी समेत दिईरहेका छन् ।