सीमामा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टकाे संख्‍या बढाएर पाँच सय पुर्याईने

News

काठमाडौं, २७ जेठ । आगामी आर्थिक वर्षभित्र सीमामा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीअ‌ाेपी) काे संख्‍या बढाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

मंगलवार प्रतिनिधि सभामा सांसद्हरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री थापाले पाँच ठाउँमा स्थापना गरिने लक्ष्‍य राखिएको बताए। उनले सीमा सुरक्षा व्यवस्थापनका लागि बीओपीको संख्या वृद्धि गरिने पनि उनले सदनलाई जानकारी दिए।

नेपाल र छिमेकी मुलुकका अधिकारीबीच विभिन्न समयमा नियमित रुपमा समन्वय तथा संयुक्त बैठक बसेर सीमा व्यवस्थापन गरिँदै आएको बताए। छिमेकी मुलुकसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, छिमेकी मुलुकका समकक्षी सीमाका अधिकारीहरुबीच सीमा व्यवस्थापन, शान्ति सुरक्षा लगायत विषयमा समेत छलफल भएको उनले बताए।

मातहतका मन्त्रालयलाई प्राप्त स्रोत साधनकाे अधिकतम रुपमा सदुपयोग गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाई छ। प्रहरी कर्मचारीलाई दक्ष र प्रभावकारी बनाउन राष्ट्रिय प्रहरी प्रशिक्षण मार्फत प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनले बताए।

सुरक्षा व्यवस्थालाई सक्षम, सुढृड र विश्वसनीय बनाउनका लागि के कति संख्यामा नेपाल प्रहरीका कर्मचारी र शसस्त्र प्रहरी बलका कर्मचारी आवश्यकता छन् भन्ने विषयमा संगठन ऐन व्यवस्थापन सर्वेक्षणको कार्य अन्तिम चरण पुगेको छ। आगामी वर्षमा ५५ वटा प्रहरी कार्यालयहरु निर्माण गर्न बजेट विनियोजन गरिएको गरिएको छ।