Covid 19 Nepal Enough is Enough कतै प्रायोजित आन्दोलन त होइन ?

Politics

Covid 19 Nepal Enough is Enough भन्ने ग्रुपमा हरेक दिन आन्दोलन कसरी गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा चर्चा हुन्छ अनि आन्दोलनका नाराहरु के बनाउने भन्ने बिषयमा छलफल गरिन्छ । भोलिपल्ट एकाएक मानिसहरु आन्दोलनमा उत्रिन्छन् । ती मानिसहरु कहाँबाट आइपुगेका हुन् केही थाहा छैन । तर अभियन्ताहरु हेर्दा विवेकशील पार्टीका नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति देखिन्छ । एक्कासी काठमाडौको सडकमा ठूलो हुल कसरी जम्मा हुन्छ ? के तपाइँले आफ्नो छोराछोरी, घरपरिवारलाई यस्तो आन्दोलनमा जान दिनुहुन्छ ? त्यो पनि कोरोनाको महामारी चलिरहेको बेलामा । सोच्नैपर्ने प्रस्न हो यो !

आन्दोलनको सबैभन्दा सोचनीय पक्ष आन्दोलनकारी आन्दोलन मात्र गर्दैनन्, हाइ टेक क्यामराबाट फोटो खिच्छन, आन्दोलनको छोटो फिल्म बनाउछन अनि फेसबुकमा पोस्ट पनि गर्छन । थरि थरिका प्लेकार्ड बोकेर आन्दोलन गर्छन् , थरि थरिका मुखौता लगाएर आन्दोलनमा आउछन् । कुन फोटो/भिडियो भाइरल हुन्छ र कुन हुँदैन भन्ने कुरा आन्दोलनकारीलाई राम्ररी थाहा छ जस्तो देखिन्छ । त्यसैले भाइरल हुने खालको फोटो अनि कथा छनोट गर्छन्, प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रहरी ज्यादती भन्दै फिल्म बनाउछन, फेसबुकमा सेयर गर्दै भाइरल बनाउछन । हातमा आइफोन छ, मुखमा महँगो N95 माक्स , यहाँ मध्यम बर्गका मानिसहरु छैनन् । सबै सम्भ्रान्त परिवारका जस्ता देखिन्छन् ।  यस्तो सम्भ्रान्त आन्दोलन नेपालमा अहिलेसम्म देखिएको थिएन । स्वस्फुर्थ रूपमा युवा उत्रेको जस्तो देखिएपनि सोच्नुपर्ने र शंका गर्नुपर्ने ठाउँ भने प्रसस्तै छ।

सोच्नैपर्ने र आन्दोलनकारीलाई सोध्नैपर्ने प्रस्न

विवेकशील पार्टीका नेताहरु किन यो आन्दोलनमा अगाडि अगाडि ?

कोरोनाको टेस्ट राम्ररी गर्नुपर्ने भन्दै सडक तताउने बेला हो यो ?

मनपरी जुलुस गर्दा भोलि संक्रमण फैलियो भने जिम्मा लिने कसले ?

ऐतिहासिक रुपमा संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको निशानछाप पारित हुने दिनमै किन यो बेतुकको आन्दोलन ?

आन्दोलन अर्को दिनलाई सार्न सक्छौ ? आन्दोलनमा एक शब्द लिपुलेक कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर किन नबोलेको ?

यी आन्दोलनमा बेतुकका फोटा खिचेर भाइरल बनाएर गरेको आन्दोलन कसका लागि ? आन्दोलनको फिल्म दाताहरुलाई खुशी बनाउन हो?

भोलि शनिबार नेपालको संसदमा लिपुलेक, लिम्पियाधुरा सहितको निशानछाप पारित हुँदैछ, त्यसै दिन यो सरकार विरुद्ध सबै शक्ति लगाएर ठूलो प्रदर्शन गर्दै छ यो जमातले । भारतले हाम्रो प्रधानमन्त्रीलाई कुर्सीबाट लडाएर अझ धेरै सिमा कब्जा गर्ने दाउमा छ, जसलाई यो प्रदर्शनले साथ दिइरहेको छ। भोलि ऐतिहासिक रुपमा नेपालको निशान छाप संसदबाट पारित हुँदै गर्दा यो जमात अझ धेरै सडकमा उत्रिने तयारिमा छ। यो जमात अब कहिल्यै न MCC को बिरोधमा यसरी आन्दोलनमा आउन सक्छन्, नत भारतले सिमा मिचेको बिषयमा ! भारतिय मिडियाले “केपी ओलीके खिलाप प्रदर्शन” भनेर समाचार छापिसके । त्यसैले यो आन्दोलन प्रायोजित हो भनेर शंका गर्ने प्रसस्तै ठाउँ छ।

हुनसक्छ आन्दोलनमा उत्रेका युवा सबै प्रायोजित नहोलान तर यो आन्दोलनको नेतृत्व अथवा यस भित्रको कुनै जमात  प्रायोजित छ भन्नेमा कुनै शंका छैन। युवालाई त अहिलेको परिस्थितिले उब्जाएको उकुस मुकुसको बिरोध गर्नु छ , तर हे युवा एक चोटी सोचौ है कतै तपाईहरुलाई कुनै अदृश्य शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्न तपईहरुलाई थाहै नदीई परिचालित त गरिरहेका छैनन् ?

(प्रस्तुत लेख सामाजिक संजालमा थुप्रै मनिसहरुले सोधेका प्रस्न र स्ट्याटसहरुलाई आधारित गरेर तयार पारिएको हो। )