चीनले समझदारी उल्लंघन गर्दा झडप : भारतीय विदेश मन्त्रालय

International

काठमाडौँ –  लद्दाखमा चिनियाँ सेनासँग भएको झडपबारे भारतीय विदेशमन्त्रालयले मुख खोलेको छ । चिनियाँ पक्षले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन गर्न खोज्दा झडप भएको मन्त्रालयका प्रवक्ताले आरोप लगाएका छन् ।

चिनियाँ पक्षले सम्झौता उल्लंघन गरेको र त्यसबाट दुवै पक्षमा क्षति पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता  अनुराग श्रीवास्तवले एक वक्तव्य जारी गर्दै बताएका छन् । आफ्नो सबै क्रियाकलाप लाइन अफ एक्चुअल कन्ट्रोलभित्र भएको दाबी गर्दै भारतले चीनले पनि त्यसै गर्ने अपेक्षा व्यक्त गरेको छ ।

‘हामी सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवादबाट हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त छौँ,’ मन्त्रालयले भनेको छ, ‘तर, त्यही समयमा हामी भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौँ ।’

सोमबार लद्दाखमा दुई मुलुकका सेनाबीच झडप हुँदा कम्तीमा ३ भारतीय सैनिक मारिएका थिए । मंगलबार चिनियाँ सेना तथा विदेश मन्त्रालयले भारतीय पक्षले समझदारी पालना नगरी आफूहरुलाई उत्तेजित पारेको वक्तव्य दिइसकेका छन् । एजेन्सी