आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित गरिँदै

Politics

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक(लिम्पियाधुरा समेटेर बनाइएको नयाँ नक्सा निशान छापमा पनि राख्न प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक आज (बिहीबार) राष्ट्रियसभाबाट पनि पारित गरिँदै छ ।

त्यसका लागि आज अपराह्न ४ बजे राष्ट्रियसभाको बैठक बस्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

तल्लो सदन प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित गरेको भोलिपल्ट संविधानको दोस्रो संशोधन विधेयक राष्ट्रियसभामा पेस गरिएको थियो।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले विधेयक टेबुल गरेपछि जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा यसबारे छलफल भएको थियो।

त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो । त्यो समय सकिएकाले आज विधेयक राष्ट्रियसभाले पारित गर्ने तयारी गरेको हो। विधेयक राष्ट्रियसभाले पनि दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।