किन गरेको थियो १९६२ मा चीनले भारतमाथि आक्रमण ?

Interesting

मेजर जनरल अफसिर करीमले मार्च ७, २०१५ मा ‘इंडियन डिफेन्स रिव्यू’ मा एक लेख छापेका थिए। त्यस लेखमा उनले चीनबाट भारत आउन सक्ने सम्भावित खतरा औल्याएका छन् । उनले लेखेका छन् , “त्यस्तो समय आयो जब भारतले आफ्नो सैनिक क्षमता र नीतिमा सुधार गरी चीनलाई जवाफ दिन तयार हुनुपर्दछ।”

पूर्वी लद्दाखको गाल्वान उपत्यकामा १५ जुनको रातमा जे भयो , हेर्दा यस्तो देखिन्छ कि मेजर करीमले खतरा बुझेका थिए । त्यस दिन, भारतीय र चिनियाँ सैनिकहरू बीचको भिडन्तमा २० भारतीय सैनिकहरू मारिए। त्यहाँ चीन तर्फ पनि ४३ सेना मारिएको वा गम्भीर घाइते भएको रिपोर्ट छ। अवस्था अहिले तनावपूर्ण छ। तर यदि हामी भारत र चीन बीचको राजनीतिक सम्बन्धलाई हेर्छौं भने अवस्था फरक देखिन्छ। आफ्नो छ वर्षको कार्यकालमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म चिनियाँ राष्ट्रपति शी जिनपिंगसँग १८ पटक भेटिसकेका छन् । यी मध्ये केही भेटघाट एकदम न्यानो तथा सौहार्द्र वातावरणमा भएको छ। १९६२ मा पनि त्यस्तै भयो। त्यसबेला पनि परिस्थिति आज जस्तै थियो। सीमामा क्षेत्रहरू जुन त्यसबेला विवादास्पद थिए आज पनि विवादास्पद छन् । त्यस बेला पनि केही सैन्य विज्ञहरूले चीनबाट सम्भावित खतराहरू सम्बन्धी चेतावनी दिएका थिए जुन अझै बेवास्ता गरिएका थिए। राजनीतिक यात्रा र वार्ता अझै चलिरहेको थियो। त्यस युगमा ‘हिन्दी-चिनियाँ भाई-भाई’ जस्ता नारा पनि गूँजिएका थिए। तर त्यसबेला चीनले भारतमाथि आक्रमण गर्‍यो र १९६२ को त्यो युद्ध अहिलेसम्म रहस्य नै रहेको छ।

पछिल्ला पचास वर्षमा आएका धेरै रिपोर्टहरू र पुस्तकहरू मार्फत १९६२ को युद्धलाई बुझ्नको लागि केहि सहयोग गरेका छन् तर आज पनि यो भन्न सकिदैन कि चिनियाँ आक्रमणको कारण के थियो। इतिहासकार रामचन्द्र गुहाले आफ्नो प्रसिद्ध पुस्तक ‘इंडिया अफ्टर गान्धी’ मा पंडित जवाहरलाल नेहरू र तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइको बिस्तार बिस्तारै बिग्रदै गएको सम्बन्ध अन्त:त युद्धमा परिणत भएको बताएका छन्। तिब्बतको मुद्दा भारत र चीनको बिच कसरी आयो, गुहाले यो अवस्थालाई १९५० को तिब्बतबाट शुरू गरेका छन् । तिब्बतमा चिनियाँ सेनाको हस्तक्षेप निरन्तर बढिरहेको थियो। १९५८ मा पूर्वी तिब्बतका खम्पा जनताले यसको बिरूद्ध सशस्त्र विद्रोह गरे।

सुरुमा खम्पावासीहरूले केही सफलता पनि पाए तर अन्ततः चिनियाँ सेनाले विद्रोहीहरूको अन्त्य गर्यो। यस पछि, दलाई लामालाई पनि धम्की आउन थाल्यो। तिनीहरूमाथि खतरा बढेको थियो। यस्तो अवस्थामा उनले भारतमा शरण लिने निर्णय गरे।भारत उनलाई शरण दिन तयार भयो। दलाई लामाले प्रधानमन्त्री नेहरूसँग भेट गरे र उनलाई खम्पा विद्रोहको बारेमा जानकारी गराए। नेहरूले दलाई लामालाई भने कि भारतले तिब्बतको स्वतन्त्रताको लागि चीनसँग युद्ध गर्न सक्दैन। उही समयमा दलाई लामाले यो पनि भने कि ‘चीनले पूर्ण रूपमा विनाश नभएसम्म सारा संसार मिलेर तिब्बतलाई स्वतन्त्र गर्न सक्दैन।’ यति हुँदासम्म भारत र चीनबीचको सम्बन्ध पनि बिग्रँदै गइसकेको थियो। त्यहि समयमा, भारत सरकारले सूचना प्राप्त गर्न थाल्यो कि चीनले सीमा नजिकै विशाल सडक निर्माण गर्दैछ। जुलाई १९५८ मा, चीनको आधिकारिक पत्रिका ‘चाइना पिक्चोरियल’ मा केही विवादास्पद नक्शा प्रकाशित भयो। यो नक्शाले चीनको भागको रूपमा नेफा (नॉर्थ ईस्ट फ्रंटियर एजेंसी, अर्थात् आजको अरुणाचल प्रदेश) र लद्दाखको विशाल क्षेत्रहरू समेटेको थियो। डिसेम्बर १९५८ मा, जवाहरलाल नेहरूले यस सम्बन्धमा चिनियाँ प्रधानमन्त्रीलाई एउटा पत्र पठाए। यो नक्शामा भारतीय क्षेत्रलाई चीनको भाग भएको ढंगले देखाइएको छ, नेहरूले आफ्नो विरोध प्रदर्शन लेखे,जब १९५६मा दुई बीच भेट भएको थियो तब चिनियाँ प्रधानमन्त्रीले यसलाई स्वीकार्दै म्याकमोहन लाइन स्वीकार गर्न राजी भएका थिए। । त्यसबेला दुबै पक्ष सहमत भए कि भारत र चीन बीच कुनै ठूलो सीमा विवाद छैन।

एक महिना पछि भारतका प्रधानमन्त्रीले एक काउन्टर चिठी प्राप्त गरे जसमा भनिएको थियो कि म्याकमोहन लाइन ब्रिटिश शासनको विरासत हो, जुन चीनले कहिले पनि चिन्न सक्दैन। साथसाथै उनले भने कि भारत र चीन बीचको सीमा विवाद कहिले पनि हल हुन सकेन र गरिएन, मार्च २२, १९५९ मा नेहरूले अर्को पत्र लेखेर धेरै प्रमाणहरू दिए कि चिनियाँ नक्शामा चित्रित क्षेत्रहरू वास्तवमै भारतको अभिन्न अंग हुन्। पत्र मार्फत उनले आशा गरेका थिए कि चाँडै दुवै देश यी विषयहरूमा सहमतिमा पुग्नेछन्। नेहरूको यस पत्रको जवाफ आउन अघि नै दलाई लामा भारत आए।

भारत र चीनबीचको सम्बन्ध झनै बिग्रन थाल्यो। चीनले आरोप लगायो कि भारत -चीन सम्बन्ध बिगार्ने पहल भारतले गरिरहेको छ। भारतीय जनता चीनको बिरूद्ध थिए, सेना पनि अलमल्लमा परेको थियो र यहि समयमा मुम्बईमा पनि केहि भयो जसका कारण चीनले भारतलाई लक्षित गर्ने अझै धेरै कारणहरू पाए। केही प्रदर्शनकारीहरूले माओ त्से तुंगको तस्वीरलाई झुण्ड्याए र मुम्बईमा चिनियाँ वाणिज्य दूतावासको कार्यालयको भित्तामा अण्डा र टमाटर फ्याँके। यस घटनाप्रति नाराजगी व्यक्त गर्दै चीनले चेताउनी दियो कि यदि भारतले यस घटनामा उचित कारवाही गरेन भने यसको नतिजा गम्भीर हुन सक्छ। भारत-चीन सम्बन्ध सीमामा जुन गतिमा बिग्रँदै गएको थियो भारतीय जनतामा पनि चीनविरूद्ध त्यहि गतिमा वातावरण सिर्जना भइरहेका थिए। विपक्षी दलहरूको दबाबमा भारत सरकारले सेप्टेम्बर १९५९ मा श्वेत पत्र जारी गर्‍यो। यसमा गत ५ बर्षमा चीनसंग भएको पत्राचारको पूर्ण विवरण रहेको थियो । यो श्वेत पत्र सार्वजनिक भएपछि भारतीय जनताले सीमानामा चीनले गरिरहेको गतिविधिहरूका बारे पूर्ण जानकारी प्राप्त गरे।

रामचन्द्र गुहा आफ्नो पुस्तकमा लेख्छन्, “यदि यो श्वेत पत्र जारी नभएको भए, भारत-चीन सीमा विवाद राजनैतिक वा कूटनीतिक तहमा समाधान गर्न सकिन्थ्यो। तर श्वेत पत्र सार्वजनिक भएपछि चीनका मानिसहरूलाई पनि रीस उठ्यो  र त्यसपछि राजनीतिक समाधान खोज्नु भनेको चीनको लागि घुँडा टेक्नु बराबर भयो ।

‘वीके कृष्ण मेनन त्यसबेला केन्द्रीय रक्षामन्त्री थिए। उनी प्रधानमन्त्रीको निकट नजिक मानिन्थ्यो। तर तत्कालीन सेना प्रमुख जनरल के एस थिम्मैयासँग उनको सम्बन्ध राम्रो थिएन। जनरल थिम्मैया विश्वास गर्थे कि उनको सेना चीनबाट हुनसक्ने आक्रमणको लागि तयार हुनुपर्दछ। तर रक्षामन्त्री मेननले उनलाई बेवास्ता गरे। मेननले महसुस गरे कि भारतलाई वास्तविक खतरा चीनबाट नभई पाकिस्तानबाट आएको हो। त्यसैले सेनाको ठूलो हिस्सा पाकिस्तानी सीमामा तैनाथ गरिएको थियो। रक्षामन्त्री र सेना प्रमुखका बीच यस्तो तनाव बढ्दै गयो। अगस्त १९५९ मा, मेननले बीएम कौल नामक अफिसरलाई लेफ्टिनेन्ट जनरल नियुक्त गरे। कौललाई यस पोष्टमा ल्याउन उनले १२ वरिष्ठ अधिकारीहरूलाई बेवास्ता गरेका थिए । यसको विरोधमा जनरल थिम्मैयाले राजीनामा प्रधानमन्त्रीलाई पठाए। यद्यपि प्रधानमन्त्री नेहरूले जनरल थिम्मैयालाई राजीनामा गर्नबाट रोके, यस घटनाले सम्पूर्ण देशको रक्षामन्त्रीको बिरूद्ध वातावरण सिर्जना गर्‍यो। वामपन्थी समर्थकहरूको कारण उनीमाथि चीनप्रति सहानुभूति रहेको पनि आरोप लगाइएको थियो।

सन् १९५९ मा भारत र चीन सीमामा दुई सेनाका बीच थुप्रै साना साना झगडाका घटनाहरू भएका थिए। यस समयमा दुवै देशहरू बीच पत्राचार पनि निरन्तर भइरहेको थियो। सन् १९६० मा, नेहरूले चौ एन लाई लाई भारत आउन आमन्त्रित गरे। यसभन्दा अघि सन् १९५६ मा जब चिनियाँ प्रधानमन्त्री भारत आएक थिए त्यतिबेला उनलाई न्यानो स्वागत गरिएको थियो। तर सन् १९६० सम्म आइपुग्दा अवस्था पूरै फरक भैसकेको थियो। १९६० को चौ एन लाईको भ्रमण ताका हिन्दू महासभाले विरोधमा कालो झण्डा देखायो। सन् १९५६ मा भारत भ्रमणको क्रममा ‘हिन्दी-चिनी भाई भाई’ जस्ता नाराहरू लगाइएका थिए तर यस पटकका नाराहरू एकाएक ‘हिन्दी-चिनी बाई बाइ’ मा परिणत भए। चौ एन लाईको यो भ्रमण पछि पनि भारत चीन सीमा विवाद उस्तै रह्यो। यस भ्रमण र वार्ता पछि पनि दुबै मुलुक बीच  कुनै सहमति हुन सकेन।

युद्धको सुरुवात र अन्त्य:

१९६२ को मे-जूनमा, सिमानामा गोलीबारीको घटना अचानक बढ्यो। चिनियाँ सेनाका धेरै सेनाहरू भारतीय सीमामा प्रवेश गरे। भारतीय सेनासँग उनीहरूसँग लड्न पर्याप्त हतियार थिएन न त सैनिकहरू नै थिए। युद्धको बीचमा, जनरल कौल छाती दुखाइको कारण सीमाबाट दिल्ली फर्के। सेनाका सिपाहीहरूले पाँच दिनसम्म कुनै नेतृत्व बिना झगडा गरिरहे, जस पछि नेफाको तवाङ्गको क्षेत्र पनि चीनले कब्जा गर्यो। अन्ततः रक्षामन्त्री मेननलाई मन्त्रिपरिषद्बाट हटाइयो र भारतले अब अमेरिकी सहयोग खोज्न सुरु गर्यो। अहिलेसम्म, चिनियाँ सैनिक नेफेमा यति अगाडी बढिसकेका थिए कि चाँडै नै आसाम तिनीहरूको हातमा पर्ने खतरा थियो। अर्कोतर्फ, दिल्ली र मुम्बईको भर्ती केन्द्रहरूमा हजारौं युवा सेनामा भर्ती हुन तयार थिए। तर नोभेम्बर २२ मा, चीनले अचानक युद्धविरामको घोषणा गर्‍यो। यस युद्धको अन्त्य सुरुआत जस्तै रहस्यमय थियो। नेफामा, चीनले म्याकमोहन लाइनबाट आफ्नो सेना फिर्ता लिए र लद्दाख क्षेत्र पनि युद्धको पहिले भएको स्थितिमा फर्कियो। चीनले किन अचानक आफ्नो सेना फिर्ता लियो र युद्धविराम घोषणा गर्‍यो? यस प्रश्नको उत्तरमा पनि, केवल अनुमानहरू मात्र गरिएका छन् । कोही मानिसहरू चीन नर्भस भएको विश्वास गर्छन् किनभने अब भारतका सबै विपक्षी दलहरु सहित वामपन्थी दलहरु, सरकार र चीनको बिरूद्धमा एकताबद्ध भएका थिए । संयुक्त राज्य अमेरिका र बेलायतले भारतमा सहयोग पुर्‍याउनु र हतियार पठाउनु पनि चीनले युद्धविराम गर्न बाध्य हुनुको एक कारण मानिन्छ। उही समयमा, एउटा तर्क पनि दिइएको छ कि जाडोमा त्यो क्षेत्र हिउँले भरिएको हुन्छ। यस्तो अवस्थामा चीनले आफ्ना सैनिकहरूलाई लामो समयसम्म सहयोग गर्न सकेन, त्यसैले त्यहाँ एक मात्र विकल्प फर्कनु नै थियो।रामचन्द्र गुहाका अनुसार “यस युद्धको अन्त्य केही हदसम्म बुझ्न सकिन्छ, तर यसको सुरुवात बुझ्न गाह्रो छ।” कुनै श्वेतपत्र चीनद्वारा जारी गरिएको थिएन। तर यो युद्धको बारेमा निश्चित रूपमा भन्न सकिन्छ कि धेरै वर्षको अभ्यास यस्तो योजनाबद्ध आक्रमण पछाडि भएको हुनुपर्छ। यस युद्धको समय चीनको लागि पनि सहि थियो। त्यतिखेर विश्वका दुबै महाशक्तिहरू – सोभीयत संघ र संयुक्त राज्य अमेरिका र तिनका साथमा संयुक्त राष्ट्र संघ क्युवाको क्षेप्यास्त्र संकटमा डुबेका थिए। यसै कारणले गर्दा चीनलाई बिना कुनै डर यस्तो दुस्साहसी कार्य गर्न हौसला मिलेको थियो।

(१९ जून २०२० मा सत्याग्रह (भारत) मा प्रकाशित लेखबाट अनुवादित)