गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड बन्द भएको छ ।
आज बिहान पहिरो गएको हो। जसका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको छ ।
‘स्काभेटरले पहिरो हटाउँदै छ,’ प्रहरी निरिक्षक सुवेदीले भने, ‘वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ ।’ पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि काटिएको छ। पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा बन्द भएको हो ।
विद्युत् प्रसारण सञ्चालन गर्न काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।