इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडसँग चेल्सी ३–२ गोलले पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । विलियमले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका सोसेकले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । ५१ औं मिनेटमा माइकेल एन्टोनियोले गोल गरेपछि वेष्टह्यामले २–१ को अग्रता लिएको थियो ।
७२ औं मिनेटमा चेल्सीका विलियमले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । ८९ औं मिनेटमा एन्ड्रि यारमोलेन्कोले गोल गरेपछि वेष्टह्यामले चेल्सीविरुद्ध अप्रत्यासित जित दर्ता गर्न सफल भयो । पराजित भएसँगै चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । चेल्सी ५४ अंकसहित तालिकाको चौथो स्थानमा छ भने तेस्रो स्थानको लेस्टर सिटीको ५५ अंक छ । गएराति नै भएको खेलमा लेस्टर सिटी एभर्टनसँग २–१ गोलले पराजित भएको छ । आर्सनलले नर्विच सिटीलाई ४–० ले हराएको छ भने न्यूक्यासलले वर्नमाउथलाई ४–१ ले पराजित गरेको छ ।