काठमाडौँको बानियाँटारकी १२ र १४ वर्षीया बालिकाको बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी रहेका छन् । पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ ।
प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए । महाशाखा उपत्यकामा भएका जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले भने , “यो घटनामा स्थानीय प्रहरी कहाँ जान पीडित परिवारले अप्ठ्यारो मान्नु भएकाले हामीले अनुसन्धान गरेका हौं र जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।”
थापाका अनुसार घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर अनुसन्धान गरिएको थियो र १४ वर्षीया बालिकालाई एक वर्षअघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ । सोही कारण उनी डिप्रेसनको शिकार भएकी छिन् । पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डीलगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको उनले बताएकी छिन् ।