काठमाडौँ – सरकारले कोरोना भाइरस संक्रमितहरुको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड, २०७७ तयार पारेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त मापदण्डमा कोरोनाका सामान्य लक्षण भएका बिरामीहरु अस्पताल भर्ना हुन नपर्ने व्यवस्था गरिएको छ । यसअघि भने कोरोना संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था गरिएको थियो ।
मापदण्डको प्रस्तावनामा “कोभिड–१९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालमा हुने अनावश्यक भीडभाडलाई कम गर्न तथा अस्पतालमा नै भर्ना भइ उपचार आवश्यक नभएका संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेसन केन्द्रमा वा घरमा नै आइसोलेसनमा राखी उपचार गर्नुपर्ने भएकाले स्थानीय तह र प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रहरुमा राखी उपचार गर्नुपर्ने भएकाले स्थानीय तह र प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रहरुमा स्वास्थ्यका दृष्टिकोणले आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति, फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको र घरमा नै आइसोलेसनमा बस्ने संक्रमितहरुले घरमा अवलम्बन गर्नुपर्ने न्युनतम स्वास्थ्य मापदण्ड निर्धारण गर्न तथा आइसोलेसन केन्द्रहरुको गुणस्तरमा एकरुपता कायम गर्न आवश्यक भएकाले नेपाल सरकारले कोभिड–१९ संक्रमितहरुको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड, २०७७ जारी गरिएको छ,” भनिएको छ ।
उक्त निर्देशिकामा संक्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका र सामान्य लक्षण तथा चिन्हहरु भएका संक्रमित व्यक्तिहरु आआफ्नै घरमा आइसोलेसनमा बस्न सक्ने उल्लेख गरिएको छ । घरमै आइसोलेसनमा बस्दा भने स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुख्ने वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो भएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा भने तत्कालै स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनुपर्नेछ ।