who

कोभिड-१९ हावाबाट पनि सर्न सक्ने तथ्य नकार्न मिल्दैन : डब्लुएचओ

International

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने तथ्य नकार्न नमिल्ने बताएको छ। तर यो निष्कर्षमा पुग्न अझै धेरै प्रमाण आवश्यक रहेको उसको भनाइ छ।

संसारभरिका वैज्ञानिकहरूले श्वासप्रश्वाससम्बन्धी रोग कसरी सर्छन् भन्नेबारे डब्लुएचओको निर्देशिका अध्यावधिक गर्न भनेपछि डब्लुएचओका अधिकारीहरूले हावाका माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने सम्भावना रहेको बताएका हुन्।

‘हामी हावा कोभिड-१९ सर्ने एक माध्यम हुने सम्भावनाबारे कुरा गरिरहेका छौं,’ डब्लुएचको कोभिड-१९ रेस्पोन्सकी प्राविधिक प्रमुख मारिया भान केर्खोभले भनिन्।

डब्लुएचओले यसअघि कोभिड-१९ रोग लगाउने भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिको नाक र मुखबाट आउने थुक र खकारका स-साना छिटाबाट सर्ने बताउँदै आएको थियो।

तर ३२ देशका २३९ जना वैज्ञानिहहरूले हावामा तैरिरहेका भाइरसले उक्त हावामा सास फेर्ने जोसुकै मानिसमा संक्रमण गर्न सक्ने उल्लेख गर्दै क्लिनिकल इन्फ्केसस डिजिज जर्नलमा खुलापत्र लेखेका थिए।

भाइरसको सानो भाग हावामा रहिरहन सक्ने भएकाले उनीहरूले डब्लुएचओलाई आफ्नो निर्देशिका अध्यावधिक गर्न भनेका हुन्।

‘हामी उनीहरूले तथ्यबारे थाहा पाउन भन्ने चाहन्थ्यौं,’ खुलापत्र लेख्नेमध्येका एक युनिभर्सिटी अफ कोलोराडोका रसायनशास्त्री जोस जिमेनेजले भने,‘यो डब्लुएचको माथिको आक्रमण होइन बरू वैज्ञानिक बहस हो। तर यो सार्वजनिक रूपमा हुनुपर्छ भन्ने हामीलाई लाग्यो किनकी उनीहरू कुराकानीका क्रममा हामीले दिएका प्रमाणबारे सुन्नै अस्वीकार गर्थे।’

मंगलबार जेनेभामा बोल्दै संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी डब्लुएचओको प्राविधिक प्रमुख बेनेडेटा अलेगरान्जीले हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भए पनि यसको यकिन भइनसकेको बताए।