विपक्षी टिमका खेलाडीलाई टोकेका इटालियन सिरी ए क्लब लाजिओका डिफेन्डर प्याट्रिकमाथि चार खेलको प्रतिबन्ध लागेको छ । यस्तै उनले १० हजार युरो जरिवाना तिर्नु पर्ने भएको छ।
उनले ला सिरी ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चिलेका जुलिओ दोनातीको पाखुरामा टोकेका थिए। लगत्तै प्याट्रिकले सीधै रातो कार्ड पाएका थिए । सो खेलमा लाजिओ २–१ ले पराजित भएको थियो।
२७ वर्षका प्याट्रिक सन् २०१५ मा बार्सिलोनाबाट लाजिओ गएका हुन्। दोस्रो स्थानको लाजिओका उनले जुलाई २० मा शीर्ष स्थानको युभेन्टससँग हुने खेल खुमाउने भएका छन्।
प्याट्रिकले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो व्यवहारका लागि माफी चाहन्छु। मैले नियतबस गरेको होइन।’
दोनातीले माफी स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘उच्च तनावका बेला यस्ता कुरा हुन्छन्। तर, कसैले गल्ती स्वीकार गरेर माफी माग्छ भने त्यो सकिन्छ र कुनै खराब मनोभाव रहँदैन।’