नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उचित भएको प्रष्टीकरण दिएको छ । १० दिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राईसिङ’ भन्दा पनि व्यावहारिक रूपमा समायोजन भएको बताएको हो । अटो प्राईसिङ भन्दा व्यवहारिक रूपमा मूल्य समायोजन गर्दा नेपालमा ३ रुपैयाँ सस्तो भएको उसको दाबी छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले १६ जुलाईमा अटो मेकानिजमले २ रुपैयाँ बढाउन भने पनि निगमले त्यसो नगरेको बताउनुभयो ।
निगमले आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ८६ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्ष सकिन केही समय बाँकी रहेकाले अझै नाफा बढ्न सक्ने अनुमान निगमले गरेको छ । निगमले गत वर्ष ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । चालु आर्थिक वर्षमा ५ वटा मूल्यवृद्धि र ५ पटक नै मूल्य घटेको छ । एलपी ग्यासमा निगमले प्रतिसिलिण्डर २ सय ७५ रुपैयाँ नाफा लिएर बेचिरहेको छ । यसका कारण डिजेल पेट्रोलको मूल्य सस्तो भएको पौडेलको भनाइ छ ।