महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।
नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याउनु भएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । त्यस फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उहाँहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठलगायत उनका नाति र बुहारी हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठा छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन् ।
त्यस वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए । यसका अलवा वडा नम्बर ६ सिद्धिपुरका तीन, वडा नम्बर १ र वडा नम्बर ४ इमाडोलका एक-एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्, उनले भने । यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताएका छन् ।