विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल सिल गरिएको छ । चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बिहीबार दिउँसो सिल गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको नेतृत्वमा पुगेको टोलीले दिउँसो ३ः३० बजेबाट सार्वजनिक सूचना दिएरै अस्पताल पूर्ण रुपमा सिल गरिदिएको छ ।
अर्को सूचना नभएसम्मका लागि अस्पताल सिल गरिएको हो । सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ र अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहने महाशाखा प्रमुख कार्कीको भनाइ छ ।