बलिउड अभिनेता सुशान्त सिंहका बाबु केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, उनको परिवार र अन्य ६ जनाको विरूद्धमा २५ जुलाईमा बिहार प्रहरीमा एफआइआर दर्ता गराएका छन्। एफआईआरमा उनले रियाका विरूद्ध विभिन्न ५ गम्भिर आरोप लगाएका छन्। आरोपमा उनले रियाले ८ जुनमा ब्रेकअप गरेको र सुशान्तको मानसिक स्वास्थ्यको चिकित्सकीय रिपोर्ट सार्वजनिक गर्ने धम्की दिएको उल्लेख छ। यो सँगै रियाले सुशान्तको घरबाट पैसा र गहना लगेको समेत आरोप लगाएका छन्।
यी हुन् सुशान्तका बाबुले एफआईआरमा लगाएका पाँच आरोपः
- लकडाउन सुरू हुनुअघि २२ मार्चमा रियाले सुशान्तका विश्वसनीय बडीगार्डलाई कामबाट निकालेकी थिइन्।
- एफआईआरमा रियाले सुशान्तको क्रेडिट कार्डबाट गत वर्ष अत्याधिक किनमेल गरेकी थिइन। यसका अलावा एक विज्ञापनको सुटिङका लागि युरोप जाँदा रियाको हवाइ टिकटदेखिको सबै खर्च सुशान्तले तिरेका थिए।
- यसैगरी रियाले सुशान्तलाई जबरदस्ती औषधिको ‘ओभरडोज’ दिएको र कयौंपटक परिवारसँग भेट्नबाट रोकेको आरोप लगाएका छन्। सुशान्तका बाबुले सुशान्तको उपचारमा संलग्न चिकित्सकमाथि पनि प्रश्न उठाएका छन्। मानसिक स्वास्थ्यको उपचार गर्दा विरामीको सम्पूर्ण जिम्मेवारी र जानकारी विरामीको परिवारमा निहित हुने प्रावधान छ। आरोपमा यसको जानकारी आफू वा आफ्ना परिवारका कुने पनि सदस्यलाई नदिइएको सुशान्तका बाबुले दाबी गरेका छन्।
- एफआईआरमा सुशान्तका बाबुले आफूले छोराको बैंकको हिसावकिताब हेर्दा छोराको खाताबाट एक वर्षमा १७ करोड भारू रकम खर्च भएको र सो रकममध्ये १५ करोड त्यस्ता खाताहरूमा पठाइएको छ जसको सुशान्तसँग कुनै सरोकार छैन। उनले ती सबै बैंक खाताको जाँच हुनुपर्ने माग गरेका छन्। उनले यसबाट रियाले ती पैसाको खर्च कहाँ र कसरी गरिन् भन्ने पत्ता लाग्ने बताएका छन्।
- सुशान्तका पिताका अनुसार उनका छोरा अर्गानिक खेतीका लागि केरला राज्यको कुर्ग जान चाहन्थे। त्यहाँ उनी आफ्ना मित्र महेश शेट्टीसँग मिलेर अर्गानिक खेतीका लागि जमिन हेर्ने तयारीमा थिए तर रिया सँधै यसको विरोधमा थिइन्। रियाले सुशान्तलाई त्यहाँ जानबाट रोक्न उनको मानसिक स्वास्थ्य सम्बन्धी चिकित्सकीय जाँचका सम्पूर्ण रिपोर्टहरू मिडियामा सार्वजनिक गर्ने धम्की दिएकी थिइन्। यसपछि रिया सुशान्तको घरबाट पैसा, ल्यापटप, गरगहना, क्रेडिट कार्ड र मेडिकल रिपोर्ट लिएर निस्केकी थिइन्।
सुशान्तका पिताले रियाको साथमा उनका भाइ शोविक, आमाबाबु र सुशान्तकी वर्तमान व्यवस्थापक श्रृति मोदी विरूद्ध भारतीय दण्ड संहिता अन्तरगत रहेका विभिन्न धारमा कारवाहीको माग गरेका छन्। उनीहरूमा आत्महत्या गर्न उक्साएको, धोकाधडी र मेडिकल केयर एक्ट अन्तरगतका विभिन्न धारामा सजाय माग गरिएको छ।
सुशान्तका बाबुले एफआईआर दर्ता गरेपछि हाल घटनसँग सम्बन्धित सबै दस्तावेज संकलनका लागि मुम्बई पुगेको छ। त्यहाँ उसले रियासँग सोधपुछ गर्ने प्रयास गरेपनि रियालाई भेट्टाएको छैन। बिहार प्रहरी रियाको निवासमा पुग्दा उनी त्यहाँ थिइनन्। रियाले अदालतमा घटनाको पहिलेदेखि नै मुम्बई प्रहरीले अनुसन्धान गरिएकाले सबै जाँच अनुसन्धान मुम्बईमा गर्नुपर्ने माग गर्दै अदालतमा याचिका दायर गरेकी छन्। यस्तै उनले सम्भावित पक्राउ विरूद्ध जमानतको समेत याचिका दिसकेकी छन्।