दबाबमा प्रधानमन्त्री ओली

Politics

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जाने र सरकारमा सहभागी हुने बताएसँगै पार्टीभित्र पूनः विवाद सुरु भएको छ । नेता गौतमले हिजो (सोमबार) मात्रै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर आफूलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेबारे दबाब दिएका थिए ।

पछिल्लो समय एक टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले वामदेव राष्ट्रिय सभामा जाने च्याप्टर क्लोज भएको बताउँदै वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए । प्रधानमन्त्री ओलीको यो भनाई बाहिरिएसँगै उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभामा लैजानुपर्ने दबाब बढाएका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग भेटेर यसअघि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय तत्काल कार्यान्वयन गर्न दबाब दिएका थिए । लगत्तै, उनले खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई पनि भेटेका थिए । आजमात्रै अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालबीच कुराकानी भएको र तीनै जना नेताबीच गौतमलाई राष्ट्रिय सभामा ल्याउने निर्णय कार्यान्वयन गर्ने कुरा गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार तीन जना नेताले वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री ओलीलाई दबाब दिने भएका छन् ।