इन्द्रदह मेला स्थगित

हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने  इन्द्रदह मेला स्थगित भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको छ। मङ्गलवारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ। । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ।  यस वर्ष इन्द्रजात्रा समेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्य रूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो ।

यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको छ। । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्छन। मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ ।