भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्। बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन्। घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ।
त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ।
अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ। घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ।
अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएका हुन् ।
मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो। स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुर्याइएको छ।
यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो।
रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो।
रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो। सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ।