धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादका कारण झडप भएको छ । प्रहरीले झडपलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर समेत गरेको छ । वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् भने वडा नम्बर २ का बासिन्दाले त्यसको विरोध जनाउँदै आइरहेका छन् ।
उक्त बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ । शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिनको लागि दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर प्रहरी फर्केका थिए तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडलाई नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले जनाएको छ ।
विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जानकारी दिएको छ । बर्थिङ सेन्टर निर्माणको विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । झडपको क्रममा एक जनाको कानै काटिएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।