संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्नुपर्ने बताएका छन् । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले बिमानस्थलको सुरक्षालाई बिशिष्ठिकरण र प्रभावकारी बनाउनका लागि बिमानस्थल सुरक्षा प्रहरी युनिट गठन गर्न सम्बन्धीत निकायबीच छलफल भइरहेको बताएका हुन् ।
मन्त्री भट्टराईले केहि समयभित्रै गौतम बुद्ध र पोखरा तथा निकट भविष्यमा नै निजगढ अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने भन्दै त्यसको सुरक्षा पनि महत्वपूर्ण बिषय रहेको पनि उल्लेख गरे । कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन बिमानस्थलको बिकास र स्तरोन्नतीको कार्य तीव्र ढंगले अघि बढिरहेको जानकारी दिए ।
त्रिभुवन बिमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आराम गर्नका लागि सुरक्षागार्ड भवन निर्माण गरिएको र यसले बिमानस्थलको सुरक्षामा खटिएकाहरुको मनोवल उच्च हुने विश्वास लिएको बिमानस्थलले जनाएको छ ।