सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको प्रचण्ड निकट एक नेताले जानकारी दिए । नेकपाको भोलि बस्न लागेको स्थायी समितिको बैठकको पूर्व सन्ध्यामा ओली र दाहालबीच भेटवार्ता भएको हो ।
स्थायी समितिको बैठकमा छलफल गर्ने अजेण्डाका विषयमा दुई अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अध्यक्ष दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । दुईजनाबीच करिब साढे दुई घण्टा लामो छलफल भएको बुझिएको छ ।
सत्तारुढ दल नेकपाले एमसीसी परियोजनाका बारेमा छलफल गर्न भन्दै भोलि स्थायी समितिको बैठक बोलाएको भए पनि अहिलेसम्म अजेण्डाका बारेमा सदस्यहरूलाई जानकारी गराइएको छैन ।
यसअघि दुईपटक स्थायी समितिको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भएको थियो । २० जना स्थायी समिति सदस्यहरूले लिखितरूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो ।
नेकपाभित्र एमसीसी विषयको बहस तीव्र विवादमा छ । एमसीसीका बारेमा नै छलफल गर्न पनि २७ जेठ र ३२ जेठमा बोलाइएको नेकपा सचिवालयको बैठक पनि स्थगित भएको थियो ।