इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

Sports

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछ । प्रिमियर लिगमा मंगलबार टोटनहमले वेष्ट ह्यामको सामना गर्नेछ । टोटनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा टोटनहम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग अंक बाडेको टोटनहम वेष्ट ह्यामसँग भने ३ अंक जोड्न चाहन्छ । ४२ अंक जोडेको टोटनहम लिगको आठौं स्थानमा रहेको छ । २७ अंक जोडेको वेष्ट ह्याम १७ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा लेष्टर सिटीले ब्राइटनसँग खेल्नेछ । तेस्रो स्थानको लेष्टर घरेलु मैदानमा जित निकाल्दै शीर्ष दुई टोलीसँगको अंक दुरी कम गर्न चाहन्छ । लेष्टरले ३० खेलमा ५४ अंक जोडेको छ भने ब्राइटनले ३२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।