थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । २०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो ।नगरपालिकाले आव ०७५/७६ मा रु ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो । कूल रु १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६/७७ मा रु एक करोड २५ लाख र वाग्मती प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदैे दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तरतर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो ।
पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उहाँले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासेपानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ ।