कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण पर्सामा थप दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् । ‘उनीहरु दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो,’ उपाध्यायले जानकारी दिनुभयो ।
उहाँक अनुसार ३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र वृद्धको भने घरमै मृत्यु भएको रहेछ बताउनु भयो । मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको डा.उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको जानकारी दिनुभयो । यसअघिका संक्रमितमा लक्षण नदेखिएपनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताउनु भयो ।