भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ ।
जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’
शनिबार कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्वारा आयोजित इन्डिया एट-७६ भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले बुद्ध भारतीय रहेको बताएका थिए । एस जयशंकरको भनाइको नेपालमा व्यापक विरोध भएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले पनि बुद्धको जन्मस्थलबारे दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आइतबार विज्ञप्ति निकालेको थियो ।
‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उद्गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको भन्दै बुद्धको जन्मस्थलबारे विवाद गरिरहनुनपर्ने बताएको थियो ।
बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ , यो बहसको विषय हुन सक्दैन : परराष्ट्र